बर्दिया- स्थानीय पालिकाहरुमा स्वास्थ्यका कार्यक्रमको प्रगतिबारे समीक्षा गोष्ठी मंगलबारदेखि बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेको आयोजनामा भएको समीक्षा गोष्ठीमा चालु आर्थिक वर्षमा स्वास्थ्यमा भएका प्रगति, बाँकी रहेका कामबारे छलफल तथा तथ्यमा आधारित योजना तर्जुमाबारे समीक्षा गरिनेछ।
गोष्ठीमा जिल्ला जनस्वास्थ्यका प्रतिनिधि, उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख उपप्रमुखसहित ६ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, स्थानीय तहहरुमा खटिएका स्वास्थ्य संयोजक, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, स्वास्थ्यमा काम गर्ने साझेदार संस्थाहरुका प्रतिनीधिहरु गरी करिब ७० जनाको उपस्थिति छ।
बुधबारसम्म चल्ने गोष्ठीले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि स्वास्थ्य क्षेत्रको प्राथमिकता तथा कार्यक्रमको निर्धारण, तथ्यमा आधारित योजना तर्जुमा गर्न स्वास्थ्यको सूचना र चालु आर्थिक वर्षको स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै आगामी असार मसान्तसम्मको बाँकी कार्यक्रमको कार्ययोजना तयार पारिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए।
गोष्ठीमा स्थानीय तहको अधिकारभित्र परेका स्वास्थ्य कार्यक्रमका अधिकार, साझा अधिकार, आधारभूत स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु स्याहार कार्यक्रम, खोप कार्यक्रम, बालस्वास्थ्य, पोषण कार्यक्रम र एकीकृत बालरोग व्यवस्थापन लगायत महत्वपूर्ण कार्यक्रमबारे पनि छलफल हुने जनाइएको छ।