राजविराज- गर्भवतीको मृत्यु भएपछि सप्तरी सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ। बिरामीका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै कारबाहीको माग गर्दै नाराजुलुस गरेपछि अस्पतालको सेवा प्रभावित बनेको छ।
सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका १ पिप्राहिकी २५ वर्षीया अनिता यादवलाई २ दिनअघि अस्पताल भर्ना गरिएको थियो। सुरुदेखि नै चेकजाँच गर्दै आएका डाक्टर दीलिप साहले नै अनितालाई अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए।
तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको मृतकका पति रमेश यादवले आरोप लगाएका छन्। बुधबार राति १० बजेदेखि नै अनितालाई दुखाइ बढेपछि आफूले पटकपटक फोन गर्दासमेत डाक्टरले फोन नउठाएको यादवले बताए। अस्पतालले पनि सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको उनको भनाइ छ।
'डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भयो,' उनले भने।
बिरामीको मृत्यु भइसकेपछि राति २ बजे आइपुगेका डाक्टर साह तक्कालै भागेको पनि उनले आरोप लगाएका छन्।
मृतकका ४ वर्षीय छोरा आकाश र २ वर्षीया छोरी सरस्वती छन्।
बिरामी र बच्चा दुवैको मृत्यु भएपछि ट्याक्टर र टेम्पोमा राजविराज आएका स्थानीयले अस्पताल घेराउ गरेका छन्।
अस्पताल प्रशासनले भने वार्ता र सहमति गरेर समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको छ। राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, वडाका प्रतिनिधि, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकर लाल कर्ण तथा पीडित पक्ष बसेर वार्ता भइरहेको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए।