काँकडभिट्टा- जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ।
पाँचजनासम्मको परिवारमा रु दुई हजार ५०० बीमा रकम तिर्दा एक वर्षसम्म रु ५० हजारको स्वास्थ्य उपचार सेवा निःशुल्क पाइने गरी सरकारले झापासहित अन्य जिल्लामा स्वास्थ्य बीमा लागू गरेको छ।
तर बीमाको फाइदा बुझ्न नसकेर र बुझाउने अभियानको कमीका कारण मेचीनगरमा बीमामा आबद्ध हुनेहरु न्यून भएका हुन्।
झापामा गत मंसिरदेखि स्वास्थ्य बीमा लागू भएको हो । तर मेचीनगरमा गत साढे तीन महिनामा दुई हजार १६१ जनाले मात्र बीमाको सदस्यता लिएका छन्।
झापा जिल्लाका सबै १५ स्थानीय तहमा यो बीमा लागू भइसकेको छ भने हालसम्ममा ३७ हजार ९१९ जनाले बीमा गराइसकेका छन् । मेचीनगरको जनसंख्या हाल एक लाख ११ हजार ७९७ रहेको छ।
मेचीनगरका बीमा दर्ता अधिकारी दिलीप पोखरेलका अनुसार मेचीनगरको वडा नं १० मा सबैभन्दा बढी ५१५ जनाले बीमा गराएका छन्। रासस