काठमाडौं- सरकारले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। सिंहदरबार परिसरका कर्मचारीलाई लक्षित गर्दै खोलिएको हेल्थ डेस्कमा सेवा लिन आउनेको संख्या बढीरहेको छ।
डेस्क सञ्चालनमा आएको तीन दिन भयो । तीन दिनको अवधिमा ६२ जनाले सेवा लिएको स्वास्थ्यकर्मी दिपक मुडभरीले जानकारी दिए। उनका अनुसार हेल्थ डेस्क स्थापनाको पहिलो दिन १५, दोस्रो दिन १७ र आज ३० जनाले सेवा लिएका हुन्।
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा रहेको हेल्थ डेस्कमा हाल तीनजनाको टोली छ। स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीले डेस्कको औपचारिक उद्घाटन गरेका थिए।
सिंहदरबारभित्रका कर्मचारीहरु उपचारका लागि बाहिर निस्कने र कार्यालय नफर्कने क्रम बढेपछि सरकारले भित्र नै डेस्कको स्थापना गरेको हो। डेस्कले रेफर गरेपछि मात्र कर्मचारी थप उपचारका लागि बाहिरका अस्पताल जानुपर्ने हुन्छ।
हेल्थ डेस्कमा सिंहदरबार परिषरमा रहेका सबै कर्मचारीहरुले निशुल्क स्वास्थ्य परीक्षण र औषधि लिन पाउनेछन्।