विक्रम लामा, २८, नेपाली राष्ट्रिय टिमका भरपर्दा मिडफिल्डर हुन् । सन् २०१३ मा राष्ट्रिय टिममा डेब्यु गरेयता उनले निरन्तर राष्ट्रिय टिमबाट खेलिरहेका छन्।
राष्ट्रिय टिममा पर्नु अघिदेखि नै थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेलिलरहेका छन् विक्रमले । थ्रीस्टारले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग असहमति जनाउँदै घरेलु फुटबल नखेल्ने घोषणा गरेपछि व्रिकम पनि घरेलु फुटबलमा देखिएनन् । एन्फाको लापरबाहीका कारण एएफसी कप खेल्नबाट वञ्चित भएपछि थ्रीस्टारले क्षतिपूर्तिको माग गर्दै घरेलु फुटबल नखेल्ने घोषणा गरेको थियो।
विक्रमसहितको टिमले मंगोलियामा भएको छनोटबाट थ्रीस्टारलाई एएफसी कपको छनोटमा पु¥याएका थिए । थ्रीस्टारले फुटबल नखेल्ने घोषणा गरेपछि विक्रम इन्डोनेसियाको लिग–३ खेल्ने क्लब मधुरा उतमामा आवद्ध भएका थिए।
जब थ्रीस्टारले १४ महिनापछि घरेलु फुटबलमा फर्कने निर्णय ग¥यो । विक्रम कप्तानको भूमिकामा देखिए । घरेलु फुटबलमा फर्किएको १४ महिनामा विक्रमको कप्तानीमा रहेको थ्रीस्टारले प्रतिस्पर्धा गरेको दोस्रो प्रतियोगिताको उपाधि नै जित्यो । लगत्तै भएको आहा रारा गोल्डकपको फाइनलमा स्थान बनाए पनि उपाधि भिडन्तमा पुलिससँग पराजित भयो।
माघ अन्तिम साता थ्रीस्टारले बुढा सुब्बा गोल्डकपमा पनि फाइनल यात्रा तय गर्यो। जहाँ पुलिससँग नै उपाधि भिडन्त थियो । फाइनल खेलको २७औं मिनेट विक्रमका लागि करिअरकै खराब पल सावित भयो । यद्यपि सो खेल जित्दै थ्रीस्टारले पुलिसलाई पराजित गरेर सिजनको दोस्रो उपाधि उचालेको थियो।
पुलिसका खेलाडीले खराब ट्याकल गरेपछि विक्रम मैदानमै ढलेका थिए । ‘विपक्षी साथीले दाहिने खुट्टामा प्रहार गर्नु भएपछि मैदानमै ढलें,’ विक्रम सम्झन्छन्, ‘स्ट्रेचरमा बसेर मैदान बाहिर आउँदासम्म फेरि मैदानमा फर्कन्छु जस्तो लागेको थियो । तर, दुर्भाग्य दुखाइ बढ्दै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएँ।’
तत्काल एक्सरे गरेपछि उनको दाहिने खुट्टा भाँच्चिएको थाहा भयो । एउटा खेलाडीका लागि सबैभन्दा ठूलो कुरा शरीरको फिटनेस हो । शारिरीक रुपमा तन्दुरुस्त भएपछि मात्र उसले आफ्नो क्षमता देखाउन सक्छ । ‘सुरुमा त छाँगाबाट खसेको जस्तो भएँ । तर यसअघि पनि शारिरीक चोटलाई जितेर मैदान फर्किसकेको हुनाले आत्मबल कमजोर हुन दिइनँ,’ विक्रमले भने।
राम्रो उपचार गर्न सकियो भने फेरि खेलमा फर्कन सकिने बुझेका विक्रमले काठमाडौंमा उपचार गर्ने निर्णय गर्दै घाइते भएकै दिन हताहतार काठमाडौं आउने प्लेनको टिकट काटे । माघ २७ को मध्यरातमा उनको काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालनमा शल्यक्रिया गरियो । वरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टिमले उनको शल्यक्रिया गरेको थियो।
विक्रमलाई चोट लागेको पहिलोपटक भने होइन । जब उनी आफ्नो फुटबलर करिअर सुरु गर्दै थिए त्यही बेला चोटग्रस्त बन्नुपरेको थियो । २०६४ मा ढाडको नसा च्याप्पिएपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको साढे २ वर्षपछि मैदान फर्किएका विक्रमले क्लब करिअरमा मात्र होइन राष्ट्रिय टिममा पनि आफ्नो प्रभाव छाड्न सफल भए । ‘यसअघि पनि साढे २ वर्षपछि मैदानमा फर्किएको अनुभव छ । त्यसैले राम्रो उपचार र सकारात्मक सोचकै कारण फेरि मैदान फर्कने विश्वास गरेको छु।’
पछिल्लो पटक घाइते भएपछि उनी कडा अनुशासनमा छन् । मद्यपान र धूमपान नछोएका उनी खानपानमा पनि विशेष ध्यान दिने गर्छन् । त्यस बाहेक सकारात्मक सोच र उच्च आत्मबल उनको बलियो पक्ष हो।
‘मेरो त यो सामान्य चोट हो । मेरो भन्दा ठूला–ठूला शरीरिक समस्या भएका खेलाडी मैदान फर्किएका उदाहरण छन्,’ विक्रम भन्छन्, ‘कति खेलाडीको अनुभव पढेर तथा हेरेर आफूलाई सान्त्वना दिइरहेको छु।’
शल्यक्रिया गरेको चौथो दिन नै हिँड्न सक्ने भएका विक्रमले २ महिना फिजियो गर्नेछन् । उनी ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा चक्रराज पाण्डेको भनाइ छ । चिकित्सकको भनाइ अनुसार नै विक्रमले ८ महिनाभित्र मैदान फर्कने अठोट लिएका छन् । ‘अप्रेसन त सफल भएको छ । अब फिजियो थेरापीसहित आफूलाई बलियो बनाउने काम गरिरहेको छु । शारिरीक अनुशासनमा रहँदै फेरि मैदान फर्कनेछु,’ विक्रमले दृढता व्यक्त गरे।