काठमाडौं- सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १२ मेडिकल विद्यार्थीसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बंगलादेशमा दीप प्रज्वलन गरिएको छ।
मृतकहरुको आत्मशान्तिको कामना गर्दै बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनरत मेडिकल विद्यार्थीले दीप प्रज्वलन गरिएको बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले जानकारी दिए।
युएस बाङ्ला एयरलाइन्सको विमान अवतरणका क्रममा सोमबार दुर्घटना हुँदा ५१ यात्रुको मृत्यु भएको थियो। जसमध्ये बंगलादेशमा एमबिबिएस अध्ययन गरेर फर्किरहेका १२ जना पनि थिए। बंगलादेशको राजधानी ढाकाबाट उडेको विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए। घाइते २१ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बंगलादेशमा एमबिबिएस अध्ययन गरेर फर्केका २ विद्यार्थी पनि छन्। उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका हुन्। जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।
बंगलादेशस्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले उक्त मेडिकल कलेजका १३ विद्यार्थी दुर्घटनामा परेको जानकारी दिए। उनका अनुसार एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत हुन्। दुर्घटनामा परेकामध्ये प्रिन्सी धामी र समिरा ब्यञ्जनकारको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
यी हुन् विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशमा अध्ययनरत १२ मेडिकल विद्यार्थी
१. सञ्जय पौडेल
२. सञ्जय महर्जन
३. निगा महर्जन
४. एन्जिला श्रेष्ठ
५. पुर्णिमा लोहनी
६. स्वेता थापा
७. मिली महर्जन
८. सरीमा श्रेष्ठ
९. अल्जिना बराल
१०. चारु बराल
११. आस्ना शाक्य
१२. श्रेया झा (कुमुदिनी उमन्स मेडिकल कलेज)
तस्बिर सौजन्य : नविन यादव
यसैगरी, नेपालमा पनि विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजधानीमा दीप प्रज्वलन गरिएको छ।
मृतकहरुको आत्मशान्तिको कामना गर्दै विद्यार्थीले माइतीघर मण्डलामा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन्।