भक्तपुर- उपभोक्ता दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र, चाँगुनारायण भक्तपुरले आज ‘गेट वेल सुन’ (छिटो स्वस्थ होऊ) कार्डको नमूना सार्वजनिक गरेको छ।
नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्ड सार्वजनिक गर्दै सो सेवाले विपन्न वर्गलाई आर्थिक सहयोग पुग्नाका साथै अस्पतालको वातावरण सरसफाइमा पनि ठूलो टेवा पुग्ने बताए। उनले कार्ड सेवा देशैभरीका अस्पतालमा विस्तार गर्नसमेत आग्रह गरे।
अस्पतालमा भर्ना भएका बिरामी हेर्न जाने आगन्तुकले फलफूल, पुष्पगुच्छा र जुस लिएर जानुको सट्टा कार्ड प्रदान गरी बिरामीलाई आर्थिक सहयोग गर्नाका साथै अस्पतालको सरसफाइमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्ड पद्धति शुुरु गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले बताए। ‘बिरामीलाई प्रदान गरिएको कार्ड डिस्चार्जको समयमा अस्पतालको अन्तिम बिलबाट कट्टा गर्ने वा बिरामीलाई आवश्यक पर्दा अस्पतालको नगद काउन्टरमा पेश गरेवापत कार्ड बराबरको रकम अस्पतालले बिरामीलाई उपलब्ध गराउँछ’, फुयाँलले भने।
कार्ड यही चैत २४ गतेदेखि भक्तपुर अस्पताल, शहीद धर्मभक्त माथेमा मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र निजामती अस्पतालमा विस्तार गरिने छ। रु २५० देखि ५०० र एक हजारको कार्ड केन्द्रले अस्पताललाई निःशुल्करुपमा दिन्छ। बिरामी हेर्न जानेले सो कार्ड अस्पतालको काउन्टरबाट खरिद गर्नुपर्ने हुन्छ। कार्यक्रममा भक्तपुर अस्पताल, मानवअंग प्रत्यारोपण केन्द्र र गैरसरकारी महासंघ भक्तपुरका प्रतिनिधिले अस्पतालको प्राङ्गणमा बेचिएका फलफूल स्वस्थ नभएको जिकिर गरेका थिए। रासस