काठमाडौं – डाउन सिन्ड्रोम भएका बालबालिकाहरुले उचित वातावरण पाएमा समाजमा सक्षम र आत्मनिर्भर हुन सक्ने सरोकारवालाहरुले बताएका छन् । यसका बारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले डाउन सिन्ड्रोम भएका व्यक्तिहरु शारिरिक रुपमा केही कमजोर देखिएपनि बौद्धिक रुपमा सक्षम नै हुने जानकारी दिए।
डाउन सिन्ड्रोम समाज नेपालका अध्यक्ष शीला थापाले नेपालमा यस्तो भएकाका लागि सरकारी पक्षबाट कुनै पहल नभएको बताइन् । उनले भनिन्, ‘सरकारले यस्ता समस्या भएकाहरुका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याएको छैन । त्यसैले हामीहरुले समाजको गठन गरेका हौं।’
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले पहिलोपटक समस्याका बारेमा थापा पाएको उल्लेख गर्दै महानगरपालिकाले समाजसँग मिलेर काम गर्न तयार रहेको बताए।
कार्यक्रममा बालबालिकाहरुबीच हाजिरी जवाफ, वक्तृत्वकला, नृत्यलगायत प्रतियोगिता आयोजना गरिएको थियो । चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट ३२ जना बालबालिका सहभागि थिए ।
सामान्य शरिरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर मानिसको कोषमा रहने गरेको हुन्छ र डाउन सिण्ड्रोम अवस्थाका व्यक्तिहरुमा ४७ वटा क्रोमोजोम रहेको हुन्छ । यो जन्मजात समस्या भएको चिकित्सकले जनाएका छन् ।