रसुवा- उत्तरी क्षेत्रको स्याफ्रुबेँसी, थुमन र बृद्धिममा प्रिफेब मोडेलबाट नवनिर्मित स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ।
‘गोरखा भूकम्प’ले क्षति पुर्याएका रसुवाका स्वास्थ्य चौकी नयाँ निर्माण एवं मर्मतको जिम्मा लिएको करुणा फाउन्डेसनले निर्माण गरेको ती स्वास्थ्य चौकी आज हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत शिवप्रसाद बडालले जानकारी दिए।
हस्तान्तरण गरिएका स्याफ्रुबेँसी, थुमन र बृद्धिम स्वास्थ्यचौकी निर्माणमा रु एक करोड ३८ लाख खर्च भएको र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप प्रत्येक प्रिफेव मोडलको भवनमा सात÷सात कोठा रहेको छ।
फाउन्डेसनले रसुवाका स्वास्थ्यचौकी मध्ये १० वटा पुनःनिर्माण र तीनवटा मर्मत गराउने जिम्मा पाएको थियो । संस्थाले यसअघि राम्चे र धुन्चेको स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ।
यस्तै यार्सा, पारच्याङ, ठूलोगाउँ, डाँडागाउँ र गतलाङमा निर्माणाधीन स्वास्थ्य चौकी हस्तान्तरण गर्ने तयारी भइरहेको फाउन्डेसनका प्रमुख मन्दर शिखर बनर्जीले जानकारी दिए। रासस