राजविराज– संघीय संरचना अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतका सम्पूर्ण गतिविधि स्थानीय तहबाटै हुने भएपछि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन मंगलबार सप्तरीमा छलफल चलाइएको छ।
नयाँ व्यवस्था अनुसार चैत २८ देखि जनस्वास्थ्यका सेवा स्थानीय तह मार्फत सञ्चालन हुने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले ‘पत्रकार भेटघाट तथा अन्तक्र्रिया’ आयोजना गरेर सरोकारवालासँग छलफल र सुझाव लिएको हो।
जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले कार्यालयबाट वर्षभरिमा गरेका कामबारे जानकारी गराउँदै सेवा थप प्रभावकारी बनाउन अझै सक्रियता आवश्यक रहेको बताए। उनले सबै स्थानीय तहमा स्वास्थ्य संयोजक र सह–संयोजक खटाएको बताए। स्वास्थ्यका कर्मचारी तथा स्थानीय तहबीचको संयुक्त प्रयासबाट स्वास्थ्य सेवाले थप गति लिनेमा उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा कार्यालयबाट सिफारिस भई विभिन्न संघसंस्थाले सञ्चालन गरिरहेका एम्बुलेन्सहरुको सदुपयोग भए÷नभएको, ल्याब, पोलिक्लिनिक, औषधि पसलहरु मापदण्ड अनुसार चले÷नचलेको विषयमा समेत छलफल भएको थियो।
कुल ६ लाख ९१ हजार ७ सय ८४ जनसंख्या रहेको सप्तरीमा हाल २ अस्पताल, ४ प्राथमिक स्वास्थ्य केन्द्र, १ सय ११ स्वास्थ्य चौकी, ४ सय ५९ खोप क्लिनिक, ४ सय ७ गाउँघर क्लिनिक, ३ शहरी स्वास्थ्य क्लिनिक र १ सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनमा छन्।
यसैगरी, जिल्लाभरि १ हजार ७४ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सेवा प्रदान गरिएको बस्नेतले जानकारी दिए।