काठमाडौं– कालीमाटीस्थित काठमाडौँ इञ्जिनीयरिङ कलेजका सञ्चालक, प्राध्यापक र कर्मचारीको कार्यकुशलतालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले आध्यात्मिक अभ्याससहितको तालीम आयोजना गरिएको छ।
३ दिने योग, प्राणायाम र ध्यानसहितको तालीम संस्थामा काम गर्दा कार्य सम्पादनलाई चुस्त बनाउने तथा सीप प्रदान गर्ने लक्ष्यसहित आयोजना गरिएको हो।
कार्यशालामा ‘आर्ट अफ लिभिङ’मा आबद्ध निभा प्रधानले कलेजका सञ्चालक, प्राध्यापक र कर्मचारीलाई आफ्नो काम र जीवनलाई कसरी व्यवस्थित गर्ने, मनलाई कसरी स्थिर राख्ने, तनावबाट मुक्त भएर कसरी काम गर्ने, आफ्नो विचार कसरी प्रष्ट रुपमा व्यक्त गर्नेलगायत विषयमा तालीम दिएकी थिइन्।
सो अवसरमा कलेजका प्राचार्य चाँद रानाले व्यक्तिलाई हृदयदेखि धन्यवाद दिँदा उसमा पनि ऊर्जा बढ्ने र आफूमा पनि प्रफुल्लता आउने अनुभव सुनाए। तालीम लिएपछि चाहे जे काम पनि गर्नसक्छु भन्ने आँट आएको उनले दावी गरे।
कार्यक्रममा सहभागी इञ्जिनीयर प्रा डा दिनेशकुमार शर्माले तनावका बेलामा श्वास छिटोछिटो चल्ने र शरीरमा कडापन पनि बढ्दै जाने भएकाले व्यायामद्वारा शरीर लचिलो र लामो श्वासप्रश्वासको अभ्यास गर्दा स्वतः कम हुने बताए।
इ राजन लामा, सरस्वती थापालगायतले शरीर र मन दुवैलाई व्यवस्थित गरेर सकारात्मक ढंगले काम गर्ने तरीकाका लागि आध्यात्मिक अभ्यास गर्नुपर्ने विचार राखे।
आइतबारदेखि शुरु भएको तालीममा करिब १ सय जनाको सहभागिता थियो। कलेजले १० वर्षदेखि लगातार योगको विशेष कक्षासमेत सञ्चालन गर्दै आएको छ। रासस