एजेन्सी– उता युद्धग्रस्त सिरियाको एलेप्पोस्थित भूमिगत अस्पतालमा घाइतेको अपरेशनको तयारी हुन्थ्यो । यता लण्डनस्थित कार्यालयमा बसेर सर्जन डेभिड नट स्काइप र ह्वाट्स एपबाट डाक्टरहरुलाई निर्देशन दिइरहेका हुन्थे, सिकाइरहेका हुन्थे । यो क्रम लामो समयदेखि चल्दै आएको थियो । उनैले सिकाएका भरमा जटील शल्यक्रिया हुँदैं आइरहेको थियो ।
यही विषयको कार्यक्रम बीबीसीकोे न्युजसाइटले २०१६ को सेप्टेम्बर १३ मा प्रसारण ग¥यो । त्यसको करिब एक महिनामै रुसी वमबर्षक विमानले एम १० नामक उक्त अस्पतालमा बम बर्षायो । सिधै अपरेशन थिएटरमा गरिएको आक्रमणमा दुई बिरामी मारिए । अस्पताल सदाका लागि बन्द भयो ।
डा. नटले आफ्नो कम्प्युटर ह्याक भएको कारण उक्त अस्पताल रुसी निशानामा परेको बताएका छन् । अब आफूले युद्धग्रस्त क्षेत्रमा यसरी सहयोग गर्न नसक्ने उल्लेख गर्दै भने, ‘यदि कसैले ह्याक गर्छ भने अस्पतालमाथि पुनः आक्रमण गर्ने सम्भावना हुन्छ, यो सरासर युद्ध अपराध हो ।’
अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुका अनुसार सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएयता ४ सय ५० अस्पताल तथा स्वास्थ्य संस्थामाथि आक्रमण भैसकेको छ । यस्तै ७ सयभन्दा बढी डाक्टर मारिइसकेका छन् ।
बीबीसीले प्रसारण गर्दा डा. नटले स्काइप र ह्वाट्स एपबाट लण्डनस्थित कार्यालयमा बसेर निर्देशन दिएका थिए । बिरामीको भिडियो खिच्न सेल्फी स्टीक प्रयोग गरिएको थियो । प्रसारणको करिब एक महिनापछि अर्थात् अक्टोबर ३ मा अस्पतालमाथि आक्रमण भएको थियो । उक्त अस्पतालमाथि यसअघि १७ पटक हमला भएको थियो । ह्याकरले बीबीसी न्युजसाइटको उक्त कार्यक्रमलाई युट्युब च्यानलमा हेरेको र अपरेशनलाई नगरी कम्प्युटरलाई नै ह्याक गरेर अस्पतालको लोकेसन पत्ता लगाएको डा. नटको भनाई छ ।
रुसका पूर्व गुप्तचर अधिकारीमाथि बेलायतमा विषालु पदार्थ प्रयोग गरी हत्या गर्ने प्रयासमा रुसको संग्लनताका विषयमा दुई देशबीच कुटनीतिक तिक्तता आइरहेका बेला डा. नटको यो भनाई सार्वजनिक भएको हो ।
डा. नटले आफ्नो कम्प्युटर र फोन परिवर्तन गरेका छन् । तर पनि अझै कम्प्युटर सुरक्षित नभएको उनले महसुस गरेका छन् ।