विराटनगर– नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्ट्स फेस्टा’ सम्पन्न भएको छ । एमबिबिएस, बिडिएस र बीएस्सी 4 २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन्।
१० दिनसम्म सञ्चालित चौथो चरणको फेस्टामा फुटबल, क्रिकेट, भलिबल, फुटसल, ब्याडमिन्टन, म्याराथन, गायन, नृत्य, चित्रकला, कविता, निवन्ध लगायत प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । फुटवल प्रतियोगितामा प्रमाणपत्र तहका विद्यार्थीको समुह बिजयी भयो । क्रिकेटमा एमबिबिएस सातौं ब्याचका बिद्यार्थीको समुह विजयी बन्यो । त्यस्तै महिला तर्फको भलिवल प्रतियोगितामा एमबिबिएस नवौं ब्याचका बिद्यार्थीको समुह बिजयी भयो भने पुरुषतर्फको भलिवलमा बिडिएसका बिद्यार्थीको समुह विजयी बन्यो।
त्यस्तै महिलातर्फ भएको फुटसलमा प्रमाणपत्र तहका बिद्यार्थीको समुह विजयी भएको छ । पुरुषतर्फको ५ किलोमिटरको मिनि म्याराथनमा एमबिबिएस नवौं ब्याचका दिनेश हस्दा विजयी बन्दा महिला तर्फ सोहि ब्याचकी संयोजना गुरुङले उपाधि चुमिन् । नारी दिवसको अवसरमा भएको म्याराथन सुरु हुनुअघि सिरिया हमलामा मारिएकाहरुको संझनामा श्रद्धाञ्जली कार्यक्रम पनि गरिएको थियो।
प्रतियोगिताका विजयीहरुलाई कलेजका प्रिन्सिपल प्रोफेसर डा.एजी सिंह, कलेजका शैक्षिक बिभाग संयोजक डिल्लीराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेको आयोजक समिति सदस्य एवं कलेजका बिद्यार्थी गोकुल आचार्यले जानकारी दिए । नोबेलमा अध्ययनरत बिद्यार्थीहरुले हरेक वर्ष ‘नोबेल स्पोर्टस फेस्टा’ सञ्चालन गर्दै आएका छन् । नोबेलमा एम्डी, एमएस, एमबिबिएस, बिडिएस, वीएस्सी 4, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।