मकवानपुर– विकट पहाडी क्षेत्र मकवानपुरको राक्सिरांगस्थित सिलिंगेको चेपाङ समुदायमा दाँतको समस्या बढी देखिएको छ। नेपाल डेन्टल एसोसिएसनले पहिलो पटक मुख दिवसको अवसरमा उपत्यका बाहिर गरेको निःशुल्क दन्त शिविरमा यस्तो समस्या देखिएको हो ।
यहाँका चेपाङ समुदायमा मुख स्वास्थ्य र दाँत सुरक्षाका बारेमा जनचेतनाको अभाव हुँदा यस्तो समस्या देखिएको एसोसिएसनका सदस्य एवं ओम साइराम डेन्टलका प्रवन्ध निर्देशन तथा शिविर संयोजक डा सन्तोष अधिकारीले बताए ।
यसपटकको शिविरमा भने स्थानियहरुमा देखिएको दाँत सम्बन्धीको समस्याको अध्ययन गरी प्रतिवेदन तयार पारेर सरकारलाई सुझाव दिने एसोसिएसनका महासचिव डा मनोज हुमागार्इंले जानकारी दिए ।
एसोसिएसनका अध्यक्ष तथा दाँत किराले खाने रोग सम्बन्धीका विशेषज्ञ डा सन्तोषमान राजभण्डारीले सरकारले दाँत स्वास्थ्यलाई प्राथमिकतामा राख्न माग गरे।
जनचेतनामा कमि, रोगको अध्ययनमा कमि हुने गरेको र सरकारको प्राथमिकतामा समेत नपर्दा दाँत स्वास्थ्य जोखिममा परेको डा राजभण्डारीको भनाई छ ।
विकट चेपाङगाउँमा शुरु भएको दुई दिने निशुल्क दन्त शिविरमा लिशा हिमालयन नामक संस्थाले ब्रस मञ्जन वितरण गरिरहेको छ । लायन्स क्वल अफ चिवतन कम्युनिटी हेल्प र ओम साईराम डेन्टल रत्ननगरले समेत शिविरमा सहयोग गरेको छ ।
शिविरमा दाँत निकाल्ने, किरा निकालेर दाँत भर्ने, परामर्श दिने तथा गम्भिर रोग देखिएमा अस्पतालमा सिफारीस गरिने जनाईएको छ । जटिल प्रकारका विरामीलाई रत्ननगरको साइराम डेन्टलमा निःशुल्क उपचार गरिनेछ । शिविरबाट झण्डै दुईसय जना बढी स्थानियले सेवा पाएका छन् ।