काठमाडौ- बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडिसी)ले शारीरिक रुपमा अशक्त तथा अपाङ्गहरुका लािग लक्षित गर्दै मुख स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ।
केडिसीले विभिन्न प्रकारका अपाङ्गता तथा अशक्तहरुका लागि आवश्यकता अनुसार उपचार सेवा दिन ‘ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स’ नामको नयाँ केन्द्र स्थापना गर्न लागेको हो।
केडीसीका अध्यक्ष बुद्धिमान श्रेष्ठले उनीहरुका लागि विशेष हेरचाह तथा सेवा दिन छुट्टै आधुनिक केन्द्र बनाउन लागिएको बताए । उनले यस्तो केन्द्र नेपालमा नै पहिलो पटक केडिसीमा बन्न लागेको दाबी गरे।
सेन्टर स्थापनाका लागि केडीसीलाई रोटरी इन्टरनेशनल, रोटरी क्लव अफ काठमाडौँ नर्थ (डिस्ट्रिक ३२९२), रोटरी क्लव अफ उ कु न्यु ताइपेई सीटी (डिस्ट्रिक ३४९०)ले समेत सहयोग गर्ने निश्चित भएको छ।
सेन्टरमा विशेष तालिम लिएका जनशक्तिको आवश्यकता पर्ने छ। यसका लागि केडिसीमा कार्यरत जनशक्तिलाई ताइवानी चिकित्सकले ‘स्पेशल निड्स तालिम’ समेत दिएको छ। रोटरी क्लव अफ उ कु ताइपेईबाट मेई चु चौको नेतृत्वमा आएका चार जना दन्त चिकित्सकहरुको टोलीले केडीसीका दन्त विशेषज्ञ, दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट गरी ३० जनालाई तालिम प्रदान गरेको हो।
अध्यक्ष श्रेष्ठका अनुसार रोटरी क्लव अफ उ कु न्यु ताइपेई सीटीले केडीसीका चिकित्सकलाई ओरल हेल्थ सर्भेको तरिकाबारे समेत प्रशिक्षण दिएको छन्।