बुटवल– रुपन्देहीमा १३ सय २८ जना क्षयरोगी उपचार गराइरहेका छन् भने २८ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यलयका क्षय कुष्ठ निरीक्षक टिकाराम अधिकारीले रुपन्देहीमा १ सय २८ जना क्षयरोगीले औषधि सेवन गरेको बताएका छन्। यसवर्ष २८ जनाको क्षयरोगबाट मृत्यु भएको बताएका छन्।
फोक्सोमा क्षयरोग भएका बिरामी बढी रहेको अधिकारीले बताए । जिल्ला ७२–७३ मा डिआर टीबी बिरामी ५३ जना उपचारको लागि दर्ता भएकोमा ४० जना निको भएको, ९ को मृत्यु, एकजना हराएको र तीनजनाको उपचार गर्न असफल भएको छन्।
बिआर टीबी उपचार केन्द्र लुम्बिनी अञ्चल अस्पताल बुटवलका इन्चाजै सत्यराज शाक्यका अनुसार अस्पतालमा दैनिक ४० देखि ४५ जना बिरामी आउने र नयाँ पत्ता लाग्ने ५ जना रहेको बताए। लुम्बिनी अञ्चलका बिभिन्न जिल्लाबाट उपचार गर्न आउने उनले बताए । बुटवलको ढवाहमा १५ जना बिरामीलाई राखेर उपचार गर्ने अवासीय भवन रहेको छ । उक्त भवनमा अहिले १४ जना उपचारमा रहेको शाक्यले बताए।
कार्यक्रममा लुम्बिनी अञ्चल अस्पतालका मेसु डा कृष्ण खनाल, फिजिसियन डा बिष्णु प्रसाद पौडेल जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख केयर सिह गोदार, जिल्ला जनस्वास्थ्य कार्यलयका पोषण अधिकृत कृष्ण प्रसाद पोखरेलले क्षयरोगका विषयमा जानकारीमूलक वक्तव्य राखेका थिए ।
नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिने केन्द्रले जनाएको छ । नेपालमा क्षयरोगका चार हजार ३ सय २१ उपचार केन्द्र, ९६ शहरी डट्स केन्द्र, ६ सय ४ रोग निदान केन्द्र, २७ जिन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत् क्षयरोगको उपचार सेवा दिइदै आइएको छ ।