बनेपा- बनेपा नगरपालिका–१२ निवासी समाजसेवीद्वय जगन्नाथ केसी र पद्म केसीले स्थानीय महेन्द्रज्योति स्वास्थ्य चौकीको भवनका लागि एक रोपनी चारआना जग्गा दान गरेका छन्।
स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब रु ५० लाख रहेको छ। उनीहरुले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत स्वास्थ्य चौकीका लागि जग्गा दान गरेका हुन्।
सो जग्गामा नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण एवं उपकरणको सहयोग गरिदिएको छ। सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जय थापाले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठलाई नवनिर्मित सो भवनको साँचो हालै हस्तान्तरण गरे।