पर्वत– गर्मीयाम शुरु भएसँगै पर्वतमा भाइरल ज्वरोका बिरामी उच्च दरमा बढेका छन्। बदलिँदो मौसमका कारण भाइरल ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ।
जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको छ। अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय २० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएका छन्। त्यसमध्ये अधिकांश भाइरलका बिरामी रहेको अस्पतालले जनाएको छ।
भाइरलको संक्रमण प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ। बालबालिकासँगै एकैघरमा ४५ जनासम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिए। वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ।
दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा थापाले जानकारी दिए। यसबाट बच्न दूषित खाना र पानी प्रयोग नगर्ने र कारणबस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिइएको डाक्टर थापाले बताए।
१५ शय्याको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक बेडको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ। लामो समयको खडेरी र गर्मीका कारण बिरामी संख्या थप बढ्न सक्ने डा थापाले आकंलन गरे।
गाउँगाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइएको छ।
जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको संख्या बढेको बताइएको छ।
शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाँच्छिउ आउने र उच्च ज्वरो आउनेजस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर उपचार गराउन डा थापाले सुझाव दिए। उनले यस्ता संक्रमण १ जना मानिसबाट अर्को मानिसमा सजिलै सर्ने हुँदा बेलैमा सचेत हुनुपर्नेमा जोड दिए। रासस