विराटनगर – विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सञ्चालक सुनिल शर्माले क्यान्सर पीडित बिरामीलाई घरैमा पुगेर आर्थिक सहयोग गरेका छन् । स्तन क्यान्सरबाट पीडित मोरङको सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि शर्माले एक लाख आर्थिक सहयोग गरेका हुन् । सुन्दरहरैचा–१० बरपिपल टोलस्थित मगरको घरमै पुगेर शर्माले नगद हस्तान्तर गरेका हुन्।
गत मंसिर महिनाबाट मगरको स्तन क्यान्सर पत्ता लागेको हो । सुकुम्वासी बस्तीमा बसोवास गर्दै आएको मगर परिवारको आर्थिक अवस्था दयनीय छ । दुई छाक टार्न समेत संघर्ष गरिरहेको मगर परिवारलाई उपचारका लागि आर्थिक अभावले पिरोलेको थियो । पैसा नभएका कारण उपचारमा समस्या झेल्दै आएको थाहा पाएर सहयोग गरेको नोबेल अस्पताल सञ्चालक बशर्माले बताएका छन् । ‘आर्थिक अभावले उपचार गर्न नसक्दाको पीडा मैले पनि भोगेको छु । म सानो छदा बुवाको उपचार गर्ने पैसा नहुँदा धेरै पीडा झेलेको छु,’ उनले भने । आफूले बुवाको उपचार खर्च जुटाउन रिक्सा कुदाउने, क्यारेमवोर्ड खेलाउने र हाँस बेच्ने काम पनि गरेको स्मरण गरे।
क्यान्सर पीडित मगरले भरतपुर क्यान्सर अस्पतालबाट उपचार गराउँदै आएकी छन् । उनीसँग भएको र सरकारी सहुलियत सकिएपछि समस्यामा परेकी हुन् । श्रीमान् र दुई सन्तानका साथ सुकुम्वासी बस्तीमा बस्दै आएकी मगरले पहिले चिया पसल सञ्चालन गरेकी थिइन् । तर, रोगले थलिएपछि पसल पनि गर्न सकिनन्।
मगरले आर्थिक सहयोग पाएपछि उपचारमा सजिलो हुने बताइन् । ‘सुनिल सरले धेरै बिरामीलाई निःशुल्क उपचार गराएको सुन्दै आएकी थिएँ,’ क्यान्सर पीडित मगरले भनिन् ।