प्यूठान– जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानले प्यूठान नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ। नगरपालिका भित्र रहेका ८ वटा स्वास्थ्य संस्थाहरुलाई एक कार्यक्रमका बीच जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिलाई स्वास्थ्य संस्थाहरुको अभिलेख फाइल दिएर हस्तान्तरण गरिएको हो।
नगरपालिका भित्रका दाखाक्वाडी स्वास्थ्य चौकी, सापडाँडा स्वास्थ्य चौकी, जुम्रीकाँडा स्वास्थ्य चौकी माझकोट स्वास्थ्य चौकी, धर्मावति स्वास्थ्य चौकी, मरन्ठाना स्वास्थ्य चौकी , शहरी स्वास्थ्य केन्द्र अड्डापाटा र शहरी स्वास्थ्य केन्द्र ओखरबोटको सम्पूर्ण सम्पति सहितको अभिलेख हस्तान्तरण गरिएको हो।
संबैधानिक ब्यवस्था, स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशिका अनुसार स्थानीय सरकारलाई स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए। उनले केन्द्रिकित शासन प्रणालीबाट संघीय शासन प्र्रणालीमा मुलुक गएकाले यसको सफल कार्यान्वयन गर्दै जनताको अधिकार र गुणस्तरिय सेवा प्रदान हुनेमा आफू आशावादी रहेको बताए। एक हप्ता भित्र जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु स्थानिय सरकारलाई हस्तान्तरण गर्ने भन्दै प्रमुख सुवेदीले स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका जनतालाई गुणस्तरिय सेवाको अनुभूत गराउनको लागि जनप्रतिनिधिहरुलाई सहयोग गर्न आफुहरु सधै तयार रहेको प्रतिबद्धता ब्यक्त गरे। नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा मेयर अर्जुन कुमार कक्षपतिले आफुहरुको काँधमा थप जिम्मेवारी आएको भन्दै गुणस्तरिय स्वास्थ्य सेवाका लागि आफुहरु डटेर लाग्ने बचनबद्धता ब्यक्त गरे।
सेवाको पहुँच वृद्धि गर्न स्वास्थ्य संस्था थप गर्ने
प्यूठान नगरपालिका भित्र गुणस्तरिय स्वास्थ्य सेवा संचालन गर्नका लागि सबै वडाहरुमा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय गरेको छ। कार्यक्रम लगत्तै मेयर अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि प्यूठान नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयले संयुक्त रुपमा स्वास्थ्य सेवा बिभाग पुनर्जागरण महाशाखा टेकु काठमाडौंलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। साथै प्यूठान नगरपालिका २ मा रहेको शहरी स्वास्थ्य केन्द्र अड्डापाटा र वडा नम्बर ३ मा रहेको शहरी स्वास्थ्य केन्द्र ओखरबोटलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्न समेत अनुरोध गर्ने निर्णय भएको जनस्वास्थ्य निरिक्षक पुष्कल प्रसाद श्रेष्ठले जानकारी दिए।