ललितपुर- राज्यले मान्यता नदिए पनि यहाँ १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन्।
महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन्। ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताए। तीन दशक पहिले विषमज्वर र हैजा फैलिए पनि महिला स्वास्थ्यकर्मी घर घरमा पुगेर जनचेतना फैलाउन सक्ने अवस्था थिएन। उनी भन्छन्, ‘अहिले पनि कतिपय स्वास्थ्य समस्यामा परामर्श हामीले गर्छौंँ।’ पुरुषका स्वास्थ्य समस्या समाधानमा पुरुष स्वास्थ्यकर्मी लाग्ने गरेका छन्।
जिल्लामा १०० पुरुषसहित झण्डै ६०० स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये १३३ महिला स्वास्थ्य स्वयंसेविकाले मात्रै मान्यता पाएका छन् । जिल्लामा यति लामो समयसम्म काम गर्दा समेत जिल्लाले र सरकारले पुरुष पनि स्वयंसेवक हुन्छन् भनेर नमानेको उनी बताउँछन्। ‘हामीलाई मान्यता दिए काम गर्न प्रोत्साहन हुने थियो,’ उनले भने। रासस