चितवन– रत्ननगर नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरु मंगलबार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले रत्ननगर नगरपालिकालाई नगर भित्रका ६ वटा स्वास्थ्य संस्था हस्तान्तरण गरेको हो।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले नगरपालिकाका मेयर नारायण वनलाई स्वास्थ्य संस्थाको फाईल हस्तान्तरण गरेका थिए।
बछौली स्वास्थ्य चौकी, पिठुवा स्वास्थ्य चौकी, पञ्चकन्या स्वास्थ्य चौकी, टरौली शहरी स्वास्थ्य केन्द्र, नरकटिया शहरी स्वास्थ्य केन्द्र र जिरौना शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको हो। हस्तान्तरणसंगै स्वास्थ्य संस्थाको नगद, भौतिक संरचना, जिन्सी सामान र कर्मचारी नगरपालिकाको मतहतमा आएका छन्।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाले नेपाल सरकारको नीति र योजना अनुसार स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको भन्दै स्वास्थ्य संस्थाको सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकालाई आग्रह गरे। उनले नागरिकले परिर्वतनको अनुभूति गर्नेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए।
कार्यक्रममा नगरपालिकाका मेयर वनले स्वास्थ्य संस्था सञ्चालन र व्यवस्थापनको कामलाई प्रभावकारी बनाइने बताए। स्वास्थ्य संस्थालाई आवश्यक सेवा सुविधा उपलब्ध गराएर सेवालाई चुस्त र प्रभावकारी बनाउने योजना रहेको उनले बताए।