रुपन्देही– गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा प्रत्येक दिन २४ घन्टे डायलाइसिस सेवा सुरु भएको छ । १७ वटा मेसिनबाट दैनिक ५२ जना मृगौलाका बिरामीहरुको डायलाइसिस गर्दै आएको अस्पतालले बिरामीको चाप बढेपछी पहिलो चरणमा ८ वटा मेसिनबाट २४ घन्टे सेवा सुरु गरेको अस्पतालले जनाएको छ।
अस्पतालमा अब दैनिक ७० जना बिरामीलाई डायलासिस सेवा प्रदान गर्न सकिने अस्पतालका मृगौला रोग विशेषज्ञ डा रजत कायस्थले बताए। उनका अनुसार अस्पतालले छिट्टै थप १५ वटा मेसिन जडान गरी सेवालाई विस्तार गर्ने योजना बनाएको छ।
मृगौलाका बिरामीहरुको संख्या दैनिक बढ्दै गएकोले रोगको रोकथामका लागि महिनाको अन्तिम सातालाई ‘सेभ द किड्नी’ नाराका साथ मनाउने र मृगौलाको परिक्षणमा ५०% छुट दिने अस्पतालका अध्यक्ष एजाज आलमले बताए।
मृगौला रोग विशेषज्ञ डा कायस्थका अनुसार हरेक १० जनामा १ जनालाई मृगौलाको समस्या रहेको र मृगौलाले ७०% भन्दा बढी काम गर्न छोडेपछी मात्र रोगको लक्षणहरु देखा पर्न थाल्ने भएकोले वर्षमा कम्तिमा १ पटक मृगौलाको परिक्षण गराउनु राम्रो मानिन्छ।