काठमाडौं- नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुन लागेको छ।
आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक गोष्ठी आयोजना हुन लागेको हो।
नेपाल विद्यार्थी समाजको आयोजनामा आगामी चैत २४ बाट काठमाडौंको कीर्तिपुरमा हुने गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिने बताइएको छ।
नेपाल आयुर्वेद समाजका अध्यक्ष डा सुमन खनालले आयुर्वेदले मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका पुर्याउँदै आएकाले यसको विकासका लागि गोष्ठीले बहसका लागि ध्यानाकर्षण गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए।
अध्यक्ष खनालले आयुर्वेदका विज्ञ, अभ्यासकर्ता, परम्परागत चिकित्सक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने जानकारी दिए। विभिन्न औषधि कम्पनीका उत्पादन, विभिन्न जडीबुटी तथा हर्बेरियनको प्रदर्शनी हुनेछ।
भारतको राष्ट्रिय आयुर्वेद विद्यार्थी तथा युवा संघ (नस्य) सँगको सहकार्यमा हुन लागेको गोष्ठीमा भारतबाट समेत आयुर्वेदका विज्ञ, विद्यार्थी, खोजकर्ता सहभागी हुनेछन्।