काठमाडौं- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातकोत्तर तह (पिजी)को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार लिएको परीक्षाको नतिजा आइओएमले आइतबार बिहान २ बजे सार्वजनिक गरेको हो।
विगतका प्रवेश परीक्षामा विद्यार्थीले प्रविधिको सहयोगमा डिभाइसको प्रयोग गर्दै चिट चोरेको फेला पारेपछि आइओएमले यो पटक विशेष सुरक्षा व्यवस्था गरेको थियो।
आइओएमले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा क्यालकुलेटर, मोबाइल, ट्याबलेट लगायतका कुनै पनि विधुतिय उपकरण लैजान रोक लगाएको थियो। यसका साथै आइओएमले विद्यार्थीलाई लेख्ने कलम समेत लान दिएको थिएन। विद्यार्थीलाई परीक्षा हलमा नै कलम उपलब्ध गराइएको थियो।
परीक्षा हलमा प्रवेश गर्नुअघि नै विद्यार्थीको आँखा तथा कानमा समेत चेकजाँच गरीएको थियो। परीक्षा हलमा प्रवेश गर्नका लागि नै कडा सुरक्षा जाँचको व्यवस्था गरेपछि परीक्षा दिनका लागि आवेदन दिएका आधाभन्दा बढी विदेशी विद्यार्थी परीक्षामा अनुपस्थित भएका हुन्। आइओएमका अनुसार विदेशी विद्यार्थीहरुलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको महाराजगञ्ज 4 क्याम्पसमा परीक्षा केन्द्र तोकिएको थियो।
परीक्षाका लागि ५ सय ९० विदेशी विद्यार्थीले आवदेन दिएका थिए। तर, कडा सुरक्षाको व्यवस्थापछि परीक्षामा जम्मा २ सय ९८ जना मात्र सहभागि भएका छन्।
आईओएमका अनुसार पिजी तहका लागि ४ हजार ९८ जना विद्यार्थीले आवेदन दिएका थिए।
प्रवेश परीक्षाका लागि ५ वटा केन्द्र तोकिएको थियो। जसमध्ये विदेशि विद्यार्थीका लागि 4 क्याम्पस केन्द्र तोकिएको थियो भने अन्य नेपाली विद्यार्थीका लागि बुढानिलकण्ठ स्कुल, भानुभक्त मेमोरियल, भिएस निकेतन र मनोमोहन मेमोरियल केन्द्र तोकिएको थियो।