बाबियाचौर म्याग्दी- बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करिब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन्।
प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि पात्लेखेतका राधाकृष्ण शर्माको परिवारले रु ७० लाख मूल्य पर्ने ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन्। शर्माले यसअघि उक्त अस्पतालको भवन निर्माणका लागि रु एक करोड सहयोग गरेका थिए। स्थानीयवासीको रु ३० लाखको लागतमा भवन निर्माण भइसकेको अस्पताल भवन निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिए।
पात्लेखेतमा प्रदेशसभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा आइतबार भएको कार्यक्रममा सहयोगदाता शर्माका छोरा रमेशले सहयोगको घोषणा गर्दै अस्पताल सञ्चालनको वातावरण बनाउन सहयोगका लागि आग्रह गरे। सरकारले अनुमति नदिँदा दुई वर्षअघि निर्माण गरिएको सामुदायिक अस्पतालको भवनमा हाल पात्लेखेत स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ। अस्पताल सञ्चालनका लागि सरकारले अनुमति प्रदान गरेको खण्डमा शर्माले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्।
शर्माले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गरेका छन्। शर्मा परिवारले जग्गा र भवनमा करिब रु एक करोड ७५ लाख सहयोग गरेको सदस्य रकालले जानकारी दिए।
पात्लेखेतमा सामुदायिक अस्पताल सञ्चालन भएमा घतान, पात्लेखेत, वाखेत, पाखापानीका बासिन्दालाई स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको छ।रासस