नेपालगन्ज– शान्ति कोष सचिवालयले भेरी अञ्चल अस्पतालाई करिब ५ करोड मूल्य बराबरका अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ।
शान्ति कोषका तर्फबाट सहसचिव रामप्रसाद भट्टराईले भेरी अञ्चल अस्पातलका लेखा अधिकृत भूपेन्द्र मल्ललाई ती उपकरणसहतिका सामग्री हस्तान्तरण गरेका हुन्।
शान्ति कोषको सहयोगमा २०७३ पुसदेखि नेपालगन्जको भेरी अञ्चल अस्पतालमा सशस्त्र द्वन्द्वका घाइतेहरुको निःशुल्क उपचार तथा मनोपरामर्श सेवासहितको कार्यक्रम सञ्चालनमा छ।
द्वन्द्व पीडितहरुले शरीरमा रहेका गोलीका टुक्रा तथा छर्रा निकाल्ने, राम्रो उपचार नपाएका कारण हात–खुट्टा तथा नशा सम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि कोषको सहयोगमा अत्याधुनिक उपकरण भेरी अञ्चल अस्पतालाई उपलब्ध गराइएको हो।
कोषको सहयोगमा अस्पतालमा सि आर्म, डेक्सा, सिआर मेसिन लागयत अर्थाेपेडिकसग सम्बन्धित उपकरणहरु जडान गरि बिरामीलाई गुणस्तरिय उपचार सेवा दिन सुरु गरिएको छ।
विशेष कार्यक्रमको अवधिमा घाइते र बिरामीलाई उनीहरुको अवस्था हेरेर अस्पतालमा भर्ना गरेर शल्यक्रिया गर्नेदेखि कृत्रिम खुट्टा प्रदान गर्ने, मनोपारमर्श तथा निःशुल्क उपचार शिबिरबाट ६ सय ७४ घाइते तथा द्वन्द्व पीडित लाभान्वित भएका छन्।
कोषले २९ जना स्वास्थ्यकर्मीको टोली राखेर २०७३ पुसबाट नेपालगन्जको भेरी अञ्चल अस्पातलमा सञ्चालन गरेकोे विशेष कार्यक्रम २०७४ पुसमा सकिए पनि सशस्त्र द्वन्द्वका घाइतेहरुको उपचार निरन्तर सञ्चालनमा छ।