दार्चुला– गोकुलेश्वर अस्पतालमा रहेका दुबै जना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ।
मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो।
मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल नजिक भएका कारण शव गोकुलेश्वर लगिएको थियो। मजदूरी गर्न मार्मा गाउँपालिका पुगेका सोनाह झुण्डिएको अवस्थामा फेला परेका थिए।
गोकुलेश्वर अस्पतालमा रहेकी प्रमुख डा सरिता जोशीले परीक्षाका लागि चैत पहिलो साता अस्पताल छोडेकी थिइन्। यस्तै, अर्का डाक्टर गोमा धामी सुरक्षित गर्भपतनसम्बन्धी क्षेत्रीय तालीमको लागि धनगढीमा छिन्। गत चैत ११ गते गएकी धामीको तालीम चैत २२ गते मात्रै सकिँदैछ।
दुवै जना डाक्टर नभएपछि अहिले शव परीक्षण मात्र हैन सामान्य बिरामीको चेकजाँचमा समेत समस्या भएको छ। गोकुलेश्वरमा लगिएको शवलाई जिल्ला अस्पताल ल्याएर सोमबार परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।
जिल्ला अस्पताल दार्चुलामा एक जना मात्रै डाक्टर छन्। त्यहाँ एमजिडी डाक्टर दीपेश मंगल जोशीले शव परीक्षण गरेका हुन्। रासस