मंगलबारे, इलाम- इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन्।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन्। जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्।
तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाका अस्पतालबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएको बोर्डका कर्मचारी खेमराज अधिकारीले जानकारी दिए।
उनले बिमितको संख्या बढेसँगै सेवा समेत थप गरिएको जानकारी दिए। सेवा लिने बिरामीले एक हजार ११८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको उनले बताए। विगतमा ५३० प्रकारका मात्र औषधि निःशुल्क वितरण हुँदै आएको थियो। पाँच सय ८८ प्रकारका औषधि थप गरी अहिले एक हजार ११८ प्रकारका निःशुल्क औषधि पाउने व्यवस्था भएको जनाइएको छ।
यस्तै बिमितलाई अस्पतालबाट आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला, एमआरआइ सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवासमेत दिइँदै आइएको छ।
स्वास्थ्य सेवालाई सहज बनाउन इलामका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्स्रे उपकरण उपलब्ध गराइएको छ। जिल्लाका ग्रामीण क्षेत्र मानिएका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङका प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपकरण प्रदान गरिएको उक्त बोर्डले जनाएको छ।
पाँच जनासम्म भएका प्रतिपरिवारले रु दुई हजार ५०० जम्मा गरे एक वर्षभित्रमा रु ५० हजारसम्मको निःशुल्क उपचार गराउन पाउने छन्। सोभन्दा माथि भएका परिवारले प्रतिव्यक्ति ४२५ जम्मा गरे रु १० हजारका दरले उपचार थपिँदै लैजाने व्यवस्था गरिएको छ। रासस