बैसाख– विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने चितवन पछिल्लो समयमा भने सुरक्षित बन्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। विश्व औलो दिवसका अवसरमा बुधबार भरतपुरमा भएको अन्तरक्रियामा बोल्दै कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले चितवन औलोबाट सुरक्षित बन्दै गएको दावी गरेका हुन्।
निरीक्षक केसीले औलोबाट सुरक्षित बन्दै गएपनि सजग रहन भने सबैलाई आग्रह गरेका थिए। चितवनमा जिल्ला भित्र औलो रोग सार्ने जिवाणु खासै देखा नपरेपनि जिल्ला बाहिरबाट भने आउनसक्ने भएकोले लामखुट्टेबाट बच्न आग्रह गरे।
भरतपुर महानगरको सहकार्यमा जनस्वास्थ्य कार्यालयले भरतपुरमा कार्यक्रम आयोजना गरेको थियो।
चितवनमा गएको एक वर्षमा २ हजार १ सय ४३ जनाको परीक्षणमा ११ जनामा औलो रोग देखिएको भएपनि संक्रमितमध्ये १० जना बिरामीलाई विदेशमा रहँदा औलोको संक्रमण भएको पाइएको केसीले बताए। अघिल्लो वर्ष १६ जनामा रोग देखिएको थियो। जसमध्ये भरतपुर महानगरपालिकाका ३ जना, कालिका नगरपालिका र माडी नगरपालिकाका एक÷एक जना गरी ५ जना चितवनका तथा अन्य बिरामी भने बाह्य जिल्ला रहेका बताइएको छ।
‘एनोफेलिज’ नामको संक्रमित पोथी लामखुट्टेबाट रोग सर्ने भएकाले झुल प्रयोगलाई बढाउनुपर्नेमा जनस्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद महतोले जोड दिए।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ। यो रोग मान्छेबाट मान्छेमा नसर्ने भएपनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्काे मान्छेलाई सार्न सक्छ।