ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन्।
महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्थासमेत नहुँदा महानगरपालिकावासी सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन्।
उपमहानगरापलिका हुँदादेखि नै स्थानीयवासीले नगर अस्पतालको माग गर्दै आएका थिए । महानगरपालिका हुँदासम्म पनि स्वास्थ्य चौकीसरहका स्वास्थ्य संस्थामात्रै छन्।
ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीका निजी अस्पताल जान बाध्य भएको बताउँछन्।
‘महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन्’ उनले भने।
महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृ–शिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा रहेका २० वटा मातृ शिशु क्लिनिक छन् । यी क्लिनिकले ‘बर्थिङ सेन्टर’ चलाएकामा सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ ।
कार्की भन्छन्, ‘जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।’ आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीब सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन्।
जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । उनी भन्छन्, ‘जनप्रतिनिधिले एक वर्षमात्रै काम गरेकाले अझै आशा गर्ने समय छ।’
लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागू गरेको छैन। रासस