रुपन्देही– प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा नयाँ अस्पताल संञ्चालनमा आएको छ। ५ जना चिकित्सक र एक जना उद्योगीको संयुक्त लगानीमा शिद्धबाबा सुपरस्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालनमा आएको हो। १३ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण भएको हो।
बुटवलमा निजी क्षेत्रबाट सञ्चालनमा आएको र छुट्टा–छुट्टै विशेषज्ञ सेवा दिने पहिलो अस्पताल भएको अस्पतालका सञ्चालक डा यमन प्रधानले दावी गरे। उनले भने,‘बुटवलमा अहिलेसम्म नभएको सेवा आफुहरुले दिन थालेका छौं। छातीसम्बन्धी उपचार गर्ने रुपन्देहीमा विशेषज्ञ डाक्टर छैनन्। शिद्धबाबा अस्पतालमा यो सेवा दैनिक उपलब्ध हुन्छ।’
२४ शय्याबाट सुरु गरेको अस्पतालले क्षमता विस्तार गर्दै १ सय शय्या पुर्याउने लक्ष्य लिएको छ। डा प्रधानले भने,‘अहिले थोरै शय्या राखेर सुरु गरेका छौँ। बिस्तारै सेवा थप गर्दै लैजाने र यस क्षेत्रका बिरामीहरुलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य छ।’
अस्पतालमा मुटु, छाति, मुगौला, नसा, टाउको तथा रेडियोलोजिष्टका विशेषज्ञ डाक्टरहरुले सेवा दिनेछन्।
अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने बताउँदै सञ्चालक डा शक्ति बस्नेतले भने,‘मुटु, फोक्सो, मृगौला, टाउको र रेडियोलिजष्ट सेवा हाल उपलब्ध गराएका छौँ। फुलफेजमा सञ्चालन भएपछि भने अन्य सबै किसिमका सेवाहरु उपलब्ध हुनेछन्।’
हाल आइसियू, एचसियू, र जनरल बेड सञ्चालनमा ल्याएको उनले बताए। अस्पताल सुरुवातसँगै विभिन्न सेवामा छुटसहितको सेवा सुरु गरेको डा प्रधानले जानकारी दिए।