नेपालगन्ज– नेपालगन्जको धम्बोझीमा रहेको जे शर्मा मेडिकल स्टोरमा गएराति आगलागी भएको छ। विद्युत चुहावटका कारण भएको आगलागीबाट करिब २ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मेडिकल स्टोर बन्द भएको र रातको समयमा स्टोरमा मानिसहरु नबस्ने भएका कारण आगलागीबाट बढी क्षति भएको बताइएको छ। तल्लो तलामा रहेको मेडिकल स्टोर र माथिल्लो तलामा रहेको प्रयोगशालाका अधिकांश सामाग्रीहरु जलेर नष्ट भइसकेपछि मात्रै छिमेकीले आगलागीको बारेमा थाहा पाएका थिए।

नेपालगन्ज उप–महानगर र कोहलपुर नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको मेडिकल स्टोरका सञ्चालक जीवन शर्माले बताए।
३ महिना अघिदेखि मात्रै मेडिकल स्टोर र प्रयोगशाला सञ्चालन गरिएको थियो।