दुनै, डोल्पा- आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए। कतिपयले आर्थिक अभावका कारण नेपालगन्ज लगायत सहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ मानिँदैन।
जिल्ला अस्पताल डोल्पाले हालै सञ्चालन गरेको पाठेघरको शल्यक्रिया शिविरमा ११ जना पाठेघरपीडित महिलाले निःशुल्क शल्यक्रिया गराएका छन्। दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलोपटक सञ्चालन गरिएको शिविरबाट जटिल समस्याबाट पीडित ती महिलाले गाउँघरमै स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन्।
पूर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेकी सत्य पहाडीको विशेष पहलमा डोल्पा पुगेको विशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबारदेखि तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया सुरु गरेको थियो।
त्यस्तै विशेषज्ञ डाक्टर आएको मौका छोपेर मासु पलाएका, पिप जमेका, काटिएका लगायतका ८ वटा अन्य जनरल शल्यक्रियासमेत गरिएको जिल्ला अस्पताल डोल्पाका डा अनुपमंगल समालले जानकारी दिए।
शिविरमा दुई सयभन्दा बढी पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए। डोल्पामा यसरी शल्यक्रिया गरिनु डोल्पाली महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताउँछन्।
'एक महिलाको पाठेघरको शल्यक्रिया गर्नमात्रै रु ३५ देखि ४० हजारसम्म लाग्छ, डोल्पाबाटै जिल्ला बाहिर जान जहाज भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनु पर्थ्यो,' डा समालले भने, 'जिल्लामै पहिलो पटक शल्यक्रिया भएपछि डोल्पाली महिलाको लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमैमात्रामा पाइन्छ।'
शिविर सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै तीन सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।
जिल्लामै पहिलोपटक सदरमुकाममै पाठेघरको निःशुल्क शल्यक्रिया शिविर शुरु भएपछि जिल्लाका त्रिपुराकोट, सुँ, जिँउ, जुफाल, माझफाल, दुनैलगायतका विकट बस्तीबाट दुई सयभन्दा बढीपीडित महिला उपचार गर्न सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा पुगेका थिए।
दुर्गमको संस्कार घरदेखि वनको सबै काममा महिला नै जोतिनुपर्छ भन्ने पुरुषवादी सोचका कारण पनि डोल्पामा पाठेघर खस्ने रोगका कारण महिला धेरै पीडित भएको जिल्ला अस्पताल डोल्पाका डा श्रीकान्त अग्रवालले बताए।
जिल्लाका महिलाहरुलाई कामको अत्यधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशतभन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।रासस