भैरहवा– सोसाइटी अफ सर्जन अफ नेपाल, लुम्बिनी अञ्चल शाखाको आयोजना तथा शल्यक्रिया विभाग, युसियमयस शिक्षण अस्पतालको सहकार्यमा शल्यचिकित्सकहरुको पहिलो क्षेत्रीय सम्मेलन भैरहवामा सम्पन्न भएको छ।
सम्मेलनका कार्यक्रम संयोजक डा.राजेश पौडेलले शल्यचिकित्सा विषयका विभिन्न विद्याहरुमा ३० वटा कार्यपत्र माथि छलफल गरिएको बताए। डा. पौडेलका अनुसार आन्द्रा, कलेजो तथा पित्त सम्बन्धी ११ वटा, मुत्ररोग विषयमा ८ वटा, जनरल सर्जरीमा ६ वटा, मुटु, छाती तथा रक्तनलीमा ४ वटा तथा न्युरो सर्जरी विषयमा १ वटा कार्यपत्र प्रस्तुत गरिएको हो।
यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको उक्त गोष्ठीले चिकित्सा क्षेत्रमा काम गर्ने डाक्टरहरुका लागि महत्वपुर्ण टेवा पु¥याएको सोसाइटीका कोषाध्यक्ष डा.नविन महासेठले बताए। गोष्ठिमा युसियमयस शिक्षण अस्पतालका साथै लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज तथा लुम्बिनी अञ्चल अस्पतालबाट विशेषज्ञहरुको सहभागिता रहेको थियो।
यसैगरी काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, किष्ट मेडिकल कलेज, सिर मेमोरियल अस्पताल, चितवनबाट कलेज अफ मेडिकल साइन्सेज तथा विपि कोइराला क्यान्सर अस्पतालबाट पनि विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त गोष्ठीमा एसएसएन केन्द्रका महासचिव डा रुपेश मुखिया लगायत विशेषज्ञ चिकित्सकहरुको सक्रिय सहभागिता रहेको थियो।
एसएसएन लुम्बिनी अञ्चल शाखाका महासचिव डा सन्तोष शाहका अनुसार आगामी दिनमा लुम्बिनी शाखालाई अझ विस्तार तथा बलियो बनाउँदै अगाडी बढाउने, विधागत अनुभव एक–आपसमा आदान–प्रदान गर्ने, दक्षता अभिवृद्धिका लागि आपसी सहकार्य र नियमित रुपमा विभिन्न प्रकारका शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने जानकारी दिए।