जिल्ला अस्पताल प्युठानमा गए राति सुत्केरी महिलाको मृत्यु भएको विषयमा छानविन गर्न समिती गठन गरिएको छ। छानबिन समिति गठन गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि चक्काजाम र अस्पतालको तालाबन्दी खुलेको छ।
प्युठान नगरपाालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बसेको आकस्मिक बैठकले प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीको संयोजकत्वमा जिल्ला अस्पताल प्युठानका निमित्त प्रमुख डा अच्युतराज कार्की र पीडित परिवारका एक जना सदस्य रहने गरी तीन सदस्यीय छानविन समिती गठन गर्ने निर्णय गरेको हो।
साथै नवजात शिशुको निःशुल्क उपचारका लागि अस्पतालले सहजीकरण गर्ने, पालनपोषण र शिक्षाका लागि प्युठान नगरपाालिकाका प्रमुख तथा अस्पताल विकास समितीका सदस्य अर्जुनकुमार कक्षपतिको अगुवाइमा सरोकारवाला निकायहरुसँग समन्वय गरी बच्चाको खातामा पाँच लाख रुपैंया जम्मा गर्ने सहमति भएको छ। सहमतिपछि मृतकका आफन्तले मृतकको शव बुझेका छन्।
प्युठान नगरपाालिकाका २ निवासी २३ वर्षीया राधिका धामीको शल्यक्रिया गरी बच्चा निकालिएको केही समयपछि गए राति मृत्यु भएपछि उनका आफन्तले उपचारमा लापरबाही गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे लगायतका केही व्यक्तिले तत्काल बच्चाको पालनपोषण तथा किरिया खर्च वापत १४ हजार रुपैयाँ जुटाएर मृतकका श्रीमान् श्रीधर धामीलाई हस्तान्तरण गरेका थिए।

मंगलबार बिहान सुत्केरी व्यथा लागेपछि सुत्केरी हुन अस्पताल आएकी उनको सामान्य अवस्थामा सुत्केरी हुने नसक्ने अवस्था आएपछि दिउँसो बाह्र बजे अप्रेसन गरि बच्चा निकालिएको थियो। अप्रेसन गरेको करिव सात घण्टा पछि सुत्केरीको मृत्यु भएको बिरामीका आफन्त उर्मिला थापाले बताइन्।
अप्रेसन पछि २४ घण्टासम्म केही खान नदिनु भन्ने डाक्टरको सुझावलााई वास्ता नगरी बिरामीको आफन्तले पानी खुवाएको कारण सुत्केरी महिलाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत बिशाल सुवेदीले जानकारी दिएका छन्।
बिरामीको आफन्तहरुले भने डाक्टरहरुको लापारबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका छन्। अप्रेसन थिएटरमा तोडफोड गर्न सुरु गरेपछि अस्पतालमा कडा सुरक्षा ब्यवस्था मिलाइएको थियो।