काठमाडौं– औषधिमा कालोबजारी गरेको आरोपमा थापाथलीस्थित एक फार्मेसी सञ्चालक पक्राउ परेका छन्। रिजन फार्मेसीका सञ्चालक ईश्वर दवाडीलाई प्रहरीले पक्राउ गरेको हो।
उद्धवप्रसाद तिमल्सिनाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। तिमिल्सनाकी श्रीमतीले सो फार्मेसीबाट महिलाले प्रयोग गर्ने 'कन्जुगेटेड एक्सटोर्जन क्रिम' खरिद गरेकी थिइन्। अधिकतम ६ सय ३८ रुपैयाँ पर्ने सो क्रिमलाई दवाडीले १ हजार रुपैयाँमा बिक्री गरेका थिए।
श्रीमतीलाई ठगी गरेको थाहा पाएपछि तिमल्सिनाले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीमा उजुरी गरेको थाहा पाएपछि दवाडीले पैसा फिर्ता दिन लागेका थिए। तर, पीडितले पक्राउ गराई कारबाही गराएका हुन्।
उनलाई कालोबजारी ऐनअनुसार कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहराले बताए।