नेपाल चिकित्सक संघले स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याललाई स्वागत गर्दै विगतका सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ । नयाँ विभागीय मन्त्रीलाई स्वागत गर्ने परम्परा अनुरुप शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा संघसँग स्वास्थ्य मन्त्रालयले विगतमा गरेको सहमति आगामी दिनमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गरिएको हो।
कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री अर्यालले चिकित्सा पेशाप्रति आफ्नो सम्मान रहेको बताइन् । आफूले चिकित्सकका गुनासाहरुलाई महशुस गरिरहेको बताउँदै भनिन्, ‘तपाईंहरुको दिनरात खटाइले चिकित्सा क्षेत्रले प्रगति गरेको हो । तपाईंप्रति मेरो उच्च सम्मान छ ।’ चिकित्सकहरुका समस्याहरु आफूले पहिल्याइरहेको बताउँदै समाधानमा पहल रहने आश्वासन दिइन्।
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले राज्य मन्त्री अर्याललाई चिकित्सकको सुरक्षा, सेवा र सुविधाका विषयमा जानकारी गराएका थिए । उनले भने, ‘यी विषयमा विगतमा पनि सहमति भएका छन् । तर, तिनको कार्यान्वयन भएको छैन । तपाईंले यसमा ध्यान दिने अपेक्षा गरेका छौं।’
संघको निर्माणाधिन भवनमै आयोजित कार्यक्रममा निर्माण पूरा गर्न सरकारको सहयोगको निरन्तरता लागि पनि डा श्रेष्ठले आग्रह गरे । उनले भवनका लागि सुरुवातमा भइरहेको सहयोग रोकिएको जानकारी गराउँदै सुचारु गरिदिन आग्रह गरे।
कर्यक्रममा पूर्व अध्यक्षहरुका तर्फबाट डा मणिन्द्र रञ्जन बरालले आफ्ना भनाई राखेका थिए । उनले निजी क्षेत्रमा कार्यरत चिकित्सकलाई पनि सरकारले नजरअन्दाज गर्न नहुने बताए । उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्र यो अवस्थामा ल्याइपु¥याउन निजी क्षेत्र र त्यहाँ कार्यरत चिकित्सकको समेत ठूलो भूमिका छ।’