अर्धभूमिगत रहँदै आएका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह र चित्रबहादुर केसी डा उपेन्द्र देवकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेका छन्।
बेलायतमा पाँच महिने लामो उपचार गरेर फर्केका डा देवकोटाको आफ्नै अस्पतालमा थप उपचार भइरहेको छ। पित्तनलीको क्यान्सर भएका डा देवकोटालाई भेट्न सिंह र केसी आइतबार साँझ साढे ६ बजे अस्पताल पुगेका हुन्।
उनीहरुले डा देवकोटाको स्वास्थ्यका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन्।
अस्पतालमा राखिएको आगन्तुक पुस्तिकामा सिंहले डा देवकोटाको शुस्वास्थ्यको कामना लेखेर हस्ताक्षर गरेका छन्। सिंहपछि केसीले पनि हस्ताक्षर गरेका छन्।
