नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा सहकार्य गर्ने भएका छन्। दुई संस्थाबिच सोमबार द्वीपक्षीय सम्झौता भएको छ। नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजबीचको सहकार्यले पश्चिम नेपालमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाबाट विरामीहरुले लाभ पाउने नेपाल मेडिसिटी अस्पतालका भाइस प्रेसिडेन्ट अनिल ओडुविलले बताए । विशेषगरी हेली इमरजेन्सी सेवा, मुटु रोग, क्रिटिकल केयर सेवामा दुवै संस्थाले सहकार्य गर्ने उनले जानकारी दिए।
नेपालगंजलाई केन्द्रविन्दु बनाएर त्यसक्षेत्रका अस्पतालहरुलाई समेट्दै रिफरल प्रणालीको विकास गरी बिरामीहरुलाई छिटोछरितो सेवा दिन आफूहरु लागिपरिरहेको नेपाल मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले बताए।
नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा कनौडियाले २० वर्ष अगाडि पश्चिम नेपालमा ठूलो चुनौतीका साथ शुरु गरेको मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्यकर्मी तथा सुलभ स्वास्थ्य सेवा पश्चिम नेपालमा पुर्याइरहेको बताए।
चिकित्सा सेवामा दक्ष जनशक्ति र त्यही अनुसारको प्रविधिहरुको समायोजन गरी उच्चस्तरको सेवा पुर्याउन नेपालमा अझ पनि चुनौती रहेको र त्यसका लागि आफूहरुले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको डा. कनौडियाले जानकारी दिए।
नेपालको भौगोलिक अवस्थाको कारणले स्वास्थ्य सेवालाई सबै जनताहरुको बीचमा सहजताका साथ लैजान विभिन्न अवरोधहरु भए पनि यसप्रकारको सहकार्यले बिरामीहरुलाई राहत पुग्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक रिमालले बताए।