ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्तन क्यान्सरको उपचारमा विकास भएका नयाँ आयामका विषयमा प्रशिक्षण तथा अनुभाव आदानप्रदान कार्यक्रम भएको छ।
अस्पतालले नेपालमै पहिलोपटक ‘मास्टर क्लास इन एण्डभान्स ब्रेस्ट अंकोप्लाष्टिक टेक्निक’ कार्यक्रमको आयोजना गरेको जनाएको छ।
कार्यक्रममा बेलायतको सेन्ट जर्ज युनिभर्सिटी हस्पिटलका डा दिब्येश बेनर्जीले स्तन क्यान्सरको उपचारका क्षेत्रमा भइरहेका नयाँ पद्धति र विकासक्रमका विषयमा जानकारी दिनुका साथै आफ्नो अनुभाव समेत सुनाएका छन्। उनले सो क्रममा स्तनलाई जोगाएर वा पुरानै अवस्थामा देखिने गरी शल्यक्रिया गर्ने उपचार प्रणाली र अभ्यासका बारेमा प्रशिक्षण दिएका छन्।
अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले स्तन क्यान्सरमा स्तनलाई पुरै फाल्नुपर्छ भन्ने गलत धारणालाई चिर्न र स्तनको पुरानै स्वरुपलाई यथावत राखेर शल्यक्रिया गर्ने विषयमा जानकारी दिन कार्यक्रम गरिएको बताए।