जिल्ला अस्पतालका प्रमुख डा. अच्युतराज कार्कीले रेडक्रसको सहयोग र सहकार्यले धेरै सुत्केरी आमाको ज्यान बचाउन सकिएको बताएका छन् । रेडक्रस स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
डा. कार्कीका अनुसार यसवर्ष करिब २ सय गर्भवति महिलाको अप्रेशसन गरी बच्चा निकालिएको थियो । एक वर्षको अवधिमा आवश्यक पर्ने १ सय ५० पिन्ट रगत रेडक्रस र रेडक्रसकर्मीको सहयोगमा जुटेको उनले जानकारी दिए । डा. कार्कीले रेडक्रस प्यूठानले व्यवस्थापन गरेको ब्लड बैंकले धेरै सुत्केरी महिलाको ज्यान बचाउन सफल भएको, रिफर गर्नुपर्ने बिरामीलाई जिल्लामै कम खर्चमा उपचार गराउन सफल भएको र अस्पतालमा आएर सुत्केरी हुने महिलाको दर बढेको बताए । उनले मानवीय सेवाका लागि रेडक्रसले गरेको काम निकै प्रशंसनीय रहेको चर्चासमेत गरे ।
रक्तदान र फलफूल वितरण
प्युठान रेडक्रसले रेडक्रस दिवसका अवसरमा रक्तदान तथा जिल्ला अस्पताल बिजुवारमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ । जिल्ला रेडक्रस सोसाइटी प्यूठानका उपसभापति गोपाल सिंह जिसीसहित ५ जनाले रक्तदान गरेका थिए ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।