जिल्ला रेडक्रस सोसाइटी प्यूठानले जिल्ला अस्पताल बिजुवारमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्नुका साथै रक्तदान कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाएको छ।
जिल्ला रेडक्रस सोसाइटी प्यूठानका उपसभापति गोपालसिंह जिसी सहित ३ जना महिला र २ पुरुष गरि ५ जनाले रक्तदान गरे।
प्यूठान नगरपालिकाकी मेयर शान्ता आचार्यले ब्लड बैंक सञ्चालन लगायत रेडक्रसको मर्म र भावना अनुसार मानवीय सेवाका काम गरेकोमा रेडक्रस प्यूठानलाई धन्यवाद दिइन्।
रेडक्रसका जिल्ला सभापति गुमानराज पुलामीले रेडक्रसको भावना र आफूहरुले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए।
रेडक्रसको सहयोगमा धेरै सुत्केरी बाँचेका छन् : डाक्टर कार्की
जिल्ला अस्पताल प्यूठानका प्रमुख डा अच्युतराज कार्कीले जिल्ला रेडक्रस सोसाइटी प्यूठानको सहयोग र सहकार्यले धेरै सुत्केरी आमाहरुको ज्यान बचाउन सकिएको बताएका छन्।
रेडक्रस स्थापना दिवसको अवसर आयोजित कार्यक्रममा उनले यसै वर्ष करिब २ सय गर्भवतीको अप्रेसन गरी बच्चा निकालिएको जानकारी दिए। एक वर्षको अवधिमा १५० पिन्ट जति रगत आवश्यकता पर्नेमा रेडक्रस र रेडक्रसकर्मीले नै त्यो अभाव पूरा गरेको उनको भनाइ थियो।
'रेडक्रसले व्यवस्थापन गरेको ब्लड बैंकले धेरै सुत्केरी महिलाले पुनर्जीवन पाएका छन्,' उनल भने, 'रिफर गर्नुपर्ने बिरामीलाई जिल्लामै कम खर्चमा उपचार गराइएको छ। अस्पतालमा आएर सुत्केरी हुने महिलाको दरमा पनि वृद्धि भएको छ।'
हरेक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ। सन् १९५९ देखि विश्व रेडक्रस दिवस मनाउन सुरु गरिएको हो। नेपालमा यस वर्ष 'रेडक्रस : सबै ठाउँमा सबैका लागि' भन्ने नाराका साथ मनाइएको छ।