तुलसीपुर- दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिए। उनका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी थपिने गरेका छन्।
डट्स प्रविधिबाट बिरामीलाई ६ महिना सम्मको उपचार हुने भएकाले पुराना बिरामी निको हुँदै जाने र नयाँ बिरामी थपिँदै जाने भए पनि बर्षेनी एक हजार २०० को संख्याभन्दा पनि बढी बिरामी उपचारका लागि थपिने गरेको पनि अधिकृत कवँरले जानकारी दिए। उनका अनुसार यस रोगबाट प्रायः २५ देखि ५० वर्षसम्म उमेर समूहका मानिस बढी संक्रमित हुने गरेका छन्।
गत आव ०७३÷७४ मा दाङमा एक हजार २०० जना क्षयरोगी भेटिएका थिए भने यस वर्षको १० महिनाको अवधिमा ९४५ बिरामी थपिएका छन् । बढ्दो शहरीकरण, मानिसको बढी आवत जावत हुने र तिनीहरुको श्वासप्रश्वासका कारण जिल्लामा क्षयरोगी बढेको जनस्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बिरामी घोराही बजार, त्यसपछि तुलसीपुर, नारायणपुर, देउखुरीको लालमटिया र सिसहनीया बजार क्षेत्रमा भेटिने गरेको पनि जनस्वास्थ्य अधिकृत कँवरले जानकारी दिए। बिरामीले नियमित रुपमा औषधिको डोजको कमीले गर्दा समस्या हुने गरेको छ । जिल्लामा पलमोनरी क्षयरोगी बढिरहेका छन्। रासस