गत बैसाख २३ गतेदेखि सुरु भएको वीर अस्पतालको सफाइ अभियानलाई मुक्तिनाथ विकास बैंकले आर्थिक सहयोग गरेको छ।
बैंकले सामाजिक कार्य अन्तर्गत अस्पतालको सफाइ कार्यमा एक लाख रुपैयाँ सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले सफाइ अभियानमा खटिएका कलाकार तथा समाजसेवी सीताराम कट्टेल 'धुर्मुस' मार्फत एक लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन्। कलाकार कट्टेल नेपाल सरकारका सरसफाइ दूत समेत हुन्।
बैसाख २३ गते स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल र धुर्मुससहितको टोलीले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको थियो।
यसअघि त्रिभुवन विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेका खेम शर्मा नेतृत्वको समूहले १५ दिनसम्म अभियानका रुपमा सफाइको काम गरिरहेका छन्।
१५ जनाको समूह शर्माले ल्याएका छन् भने थप १० जना वीर अस्पतालले दिएको छ। ३० जनाभन्दा बढीको समूहले १५ दिन वीरमा र १५ दिन ट्रमा सेन्टरमा सफाइ गर्नेछन्।