तेह्रथुम– जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्ति बजार पुग्यो।
सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो। तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपछि टोली रित्तै फर्किएको छ। फेदाप गाउँपालिकाको सिम्लेस्थित स्वास्थ्य चौकीमै आयोजना गरिएको पुरुष स्थायी बन्ध्याकरण अर्थात भ्यासेक्टोमी शिविरमा बिहीबार कोही पनि सेवाग्राही आएनन्।
सन्तानको रहर पुगेका दम्पतीमध्ये पुरुषमा स्थायी बन्ध्याकरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर निःशुल्क भ्यासेक्टोमी शिविरको आयोजना गरेको छ।
तर शिविरमा एकजना पनि सेवाग्राही आएनन्। परिवार नियोजनको स्थायी साधन भ्यासेक्टोमी प्रयोग गर्ने पुरुषको संख्या जिल्लामा नगन्य जस्तै रहेको छ। गतवर्ष जिल्लामा १५ जनाले मात्रै भ्यासेक्टोमी गराएका थिए।
बिहीबार छथर गाउँपालिकाको हमरजुङ स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका फोकल पर्सन राजनारायण शाहले बताए।
शिविरका लागि लाखौँ रुपैयाँ खर्च भएपनि शिविरबाट लाभ लिनेको संख्या भने नगन्य छ। समाजमा परिवार नियोजनका साधन महिलाले नै प्रयोग गर्नुपर्ने मान्यता नहटेकाले पनि यस्तो समस्या सिर्जना भएको स्वास्थ्यकर्मीले बताएका छन्। रासस