गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलले पाल्पाको तान्सेनमा डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । प्रदेश नंं. ५ को विभिन्न जिल्लामा डायलाइसिस सेवा प्रदान गर्ने उद्देश्य लिएको अस्पतालले पाल्पाको तानसेनबाट युनिट बिस्तारको सुरुवात गर्ने तयारी गरेको हो।
पाल्पामा डायलाइसिस सेवा नभएका कारण त्यस क्षेत्रका बिरामीलाई हप्ताको २ पटक डायलाइसिस गर्न बुटवल आउनुपर्ने बाध्यता रहेकोले उक्त बाध्यतालाई कमगर्न पाल्पामा सेवा बिस्तारको तयारी गरिएको अस्पतालले जनाएको छ।
'पहिलो चरणमा पाल्पाको तानसेनमा १० वटा मेसिन जडान गरि सेवा प्रदान गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । तानसेनमा सेवा सञ्चालन भएपछि पाल्पा,गुल्मी र स्याङ्गजाका बिरामीहरुलाई सुविधा हुने अपेक्षा छ,' आलमले भने।
पाल्पामा डायलाइसिस सेवा संचालन गर्ने सम्बन्धमा तानसेनमा आयोजित छलफल कार्यक्रममा अस्पतालमा अध्यक्ष एजाज आलमले ४ वर्ष अगाडीबाट सेवा शुरु गरेको अस्पतालले सबैको सहयोगले अस्पताल अगाडि बढेको बताउँदै त्यस क्षेत्रकाबिरामीको पिडा कम गर्न पाल्पामा सेवा बिस्तार गर्न लागिएकोले स्थानीयको सहयोगको अपेक्षा गरिएको बताए।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले पाल्पामा मुटु अस्पतालले आफ्नो युनिट सञ्चालन गर्न लाएकोमा खुसी ब्यक्त गरे । जिल्लाका सबै कार्यालय र संघ संस्थाहरुबाट सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वसन समेत दिए।
जिल्ला समन्वय समितिका सभापति दयाराज बस्यालले पाल्पा जिल्लाका मृगौलाका बिरामीहरुले अहिलेसम्म पाएको दुःख अन्त हुने बिश्वास ब्यक्त गर्दै मुटु अस्पतालले पाल्पामै डायलाइसिस सेवा प्रदान गर्दा पाल्पा मात्र नभएर छिमेकी जिल्लाका बिरामीहरु लाई राहत हुने बिश्वास ब्यक्त गरे।
कार्यक्रममा पूर्व सांसद यादव बहादुर रायमाझी, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.पुष्पराज ज्ञवाली अस्पतालका सचिव दिनेशराज रेग्मी, कोषाध्यक्ष गणेश अधिकारी, सहसचिव बाबुराम बोहरा, सदस्य तेज कुमार पाठकले आ आफनो सुझाव तथा भनाई राखेका थिए।