नगरकोट– भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ।
राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) तथा राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त प्रशिक्षण दिइएको हो।
प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनिकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे जानकारी दिइएको थियो।
त्यस्तै एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवम् एआरटी उपचार पद्धतिबारे समेत विस्तृत जानकारी दिइएको एनएपीएनका सचिव राजेश दिदियाले बताए। ‘अन्तर्राष्ट्रिय जगतमा एचआइभी एड्सको क्षेत्रमा भइरहेको नयाँनयाँ अभ्यास, नेपालमा कार्यान्वयनमा ल्याउने विधि र प्रक्रियाबारे प्रशिक्षणमा जानकारी दिएका छौँ।, सचिव दिदियाले भने।
एनएपीएनले देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएको कोषाध्यक्ष इन्दिरा परियारको भनाइ थियो। उनले भनिन्,‘एचआइभी संक्रमित महिला बढी समस्यामा परेको हामीले सुनेका छौँ। त्यसैले एचआइभी संक्रमित गर्भवती महिलाबाट बच्चामा संक्रमण हुन नदिन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो।’
नेडेफकी अध्यक्ष दीपा बस्नेतले एचआइभी एड्सलाई स्वास्थ्य समस्याको रुपमा लिने प्रवृत्ति नहुँदा संक्रमित भेदभाव र लाञ्छनाको शिकार हुनुपरेको बताउँदै एचआइभीलाई रोगका रुपमा लिएर संक्रमितलाई अरु बिरामीसरह सम्मानपूर्वक उपचार गर्न/गराउन जोड दिइन्।
भक्तपुरस्थित नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउण्डेसनको संयोजनमा भएको उक्त प्रशिक्षणमा भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य चौकी एवम् स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। रासस