प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिर्गौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको हो।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमा ठूलो व्ययभार नपर्ने तर सम्बन्धित बिरामी र परिवारजनलाई एक हदसम्म राहत पुग्ने उक्त कार्यक्रमलाई निरन्तरता नदिइनु मानवीय दृष्टिले पनि बिल्कुलै गलत रहेको बताए।
‘प्रमुख प्रतिपक्षी दलका नाताले मुलुकको समृद्धिका लागि रचनात्मक सहयोग गर्नु एकातर्फ हाम्रो कर्तव्य बन्दछ भने अर्कातर्फ बजेटमा रहेको अन्योल, विरोधाभाष र कमजोरी औँल्याउनु हाम्रो दायित्व हुन जान्छ,’ उनले भने।
स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएर तुलनात्मकरुपले सहज राजनीतिक अवस्था मुलुकमा बनेको समयमा जुन इच्छाशक्ति, दूरदृष्टि र कार्यक्रम साथ बजेट आउनु पर्दथ्यो, त्यो नभएको काँग्रेसको ठहर छ।
पार्टी प्रवक्ता शर्माले काँग्रेसले लिएको अर्थनीति गलत छ भनेर चुनावी मैदानमा भन्ने तर सरकारमा पुगेपछि केही ‘पपुलिष्ट’ कार्यक्रम गाँसेर त्यसैलाई पछ्याउने परम्परा विगतमा रह्यो तर यो बजेट काँग्रेसले लिएको नीति र कम्युनिष्ट पार्टीको परम्परागत शास्त्रीय दर्शनको दोबाटोमा अस्पष्ट र अन्योलग्रस्त भएर उभिएको टिप्पणी गरे।
दुर्गम गाउँमा बस्ने नेपालीको औसत आयु ७० वर्षभन्दा तल रहेको वास्तविकतालाई ध्यानमा राखी काँग्रेसको सरकारले ६५ वर्षमै वृद्धभत्ता दिन गरेको निर्णय बजेटमा समाहित नगरिएकामा उनले गम्भीर आपत्ति प्रकट गरे। रासस