गैर आवासीय नेपाली संघ थाइल्याण्डले नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
एनआरएनए थाइल्याण्डको युवा फोरमले थाइ रेडक्रस सोसाईटी बैंककमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि तथा अन्य देशका प्रतिनिधिहरुले समेत रक्तदान गरेका थिए।
कार्यक्रममा थाइल्याण्डस्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिसन जंगबहादुर गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय परिषदका सदस्य तथा नेपाली पोलिसी इन्स्टीच्यूटका अध्यक्ष प्राध्यापक खगेन्द्रराज ढकाल, नेपाली पोलिसी इन्स्टीच्यूटका कार्यकारी सदस्य सरद न्यौपाने, थाइल्याडका प्रथम सगरमाथा आरोही थितीनान रोजानफानीज, नेपालका १६३ औँ पटक रक्तदान गरेका रक्तदाता अर्जुनप्रसाद मैनालीलगायतले रक्तादान गरेको एनआरएनए पुर्व अध्यक्ष ढकालले बताए ।
आयोजकका तर्फबाट अध्यक्ष आसाजीत अवालेले नेपाल भन्दा पर रहेपनि नेपालको माया सम्झदै सहभागि भएकोमा धन्यवाद दिएका थिए । रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक श्रीहरी आचार्यले जानकारी दिए। एनआरएनएको इतिहासमा एनआरएनए थाइल्याण्ड रक्तदान कार्यक्रम आयोजना गर्ने २२ सदस्य देश हो।